हुम बहादुर च्हाक्ली तमु
२० भाद्र २०८३
पोखरा । तमु प्ये ल्हु संघ, केन्द्रीय पच्यु समितिको पाँचौँ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । पोखरा–११, रानीपौवा, शक्तिघाटस्थित केन्द्रीय सभा हल खेगी भवनमा आयोजित साधारण सभामा तमु प्ये ल्हु संघ केन्द्रका अध्यक्ष ओम बहादुर थिम्चे तमुको प्रमुख आतिथ्यतामा संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो ।
सभाले संघको आगामी गतिविधि, कार्यक्रम तथा कार्ययोजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको थियो । साधारण सभामा तमु प्ये ल्हु संघका निवर्तमान अध्यक्ष, संघको प्रदेश अध्यक्ष, तमु प्ये ल्हु संघमा आवद्ध विभिन्न विभाग संठनका अध्यक्ष, पदाधिकारी, सदस्य तथा विभिन्न तहका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सभामा बोल्दै वक्ताहरूले तमु समुदायको संस्कार र संस्कृति संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले संस्कार तथा संस्कृति पालनका क्रममा विभेद नगर्न र तमु संस्कृतिलाई विभाजित नगरी एकताबद्ध रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।
तमु प्ये ल्हु संघले तमु संस्कार, संस्कृति, परम्परा र मानव अस्तित्वको संरक्षण तथा प्रवद्र्धन गर्दै तमु समुदायको हक, हित र पहिचानका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 
संघले संस्कार र संस्कृति संरक्षणसँगै समुदायको सामाजिक तथा सांस्कृतिक विकासमा थप सक्रिय भएर काम गर्ने जनाएको छ । सभाबाट आगामी दिनमा संघका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै तमु समुदायको भाषा, संस्कार, संस्कृति तथा पहिचान संरक्षणमा विशेष जोड दिने निष्कर्ष निकालिएको छ ।















प्रतिक्रिया लेख्नुहोस्:-