पोखरा महानगरपालिका–३२ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि वडास्तरीय सहजीकरण समिति र संघर्ष समिति गठन गरिएको छ।
वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीको उपस्थितिमा खुँदीखोला क्षेत्रमा रहेका सुकुम्बासीहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रमपछि दुवै समिति गठन गरिएको हो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले बिना कारण र वैकल्पिक व्यवस्था नगरी कसैलाई पनि बसोबास गरिरहेको स्थानबाट हटाउन नदिने स्पष्ट पारे। उनले हल्लाको भरमा डोजर लिएर बस्ती हटाउने काम स्थानीय सरकारले नगर्ने भन्दै नागरिकलाई ढुक्क भएर दैनिक जीवन सञ्चालन गर्न आग्रह गरे।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति कास्कीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सरकारको आगामी नीतिबारे जिज्ञासा राखेका थिए। उनीहरूले डोजर आउने हल्लाले मजदुरी गर्न समेत मन नलाग्ने, राति निद्रा नपर्ने अवस्था सिर्जना भएको गुनासो गरे।
कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव ओमबहादुर पौडेलले भूमिहीन र सुकुम्बासी समुदायले शहर निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरूको सम्मान र अधिकार सुनिश्चित हुनुपर्ने बताए। उनले सुकुम्बासी बस्तीलाई केवल जीर्ण घरका रूपमा नभई शहर निर्माणमा योगदान पुर्याउने श्रमिकहरूको जीवनसँग जोडेर हेर्न आग्रह गरे।
संघर्ष समिति कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकलाई राज्यले समस्याको रूपमा हेर्नु गलत भएको बताए। उनले शहर निर्माण र विकासमा श्रमिक तथा सुकुम्बासी समुदायको ठूलो भूमिका रहेको उल्लेख गरे।
कार्यक्रममा संघर्ष समितिका सह–संयोजक रमेश बयलकोटी, सहजीकरण समिति कास्कीका संयोजक अर्जुन मल्ल, सल्लाहकार रामबहादुर लामीछानेलगायतले आफ्ना धारणा राखेका थिए। नेपाली कांग्रेस वडा नं. ३२ का सभापति कुलप्रसाद अधिकारी तथा नेकपाका वडा अध्यक्ष टेकप्रसाद अधिकारीले पनि सुकुम्बासी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।
कार्यक्रमले मिलन घलानको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरेको छ। त्यसैगरी अर्जुन मल्लको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ।
कार्यक्रममा सहभागीहरूले सुकुम्बासी समुदायमाथि अमानवीय व्यवहार जारी रहे देशभरका सुकुम्बासीहरू आन्दोलनमा उत्रिन सक्ने चेतावनी समेत दिएका थिए।














प्रतिक्रिया लेख्नुहोस्:-