पोखरा, माघ १९
प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगितामा मदरल्याण्ड सेकेन्डरी र छोरेपाटन माविले विजयी सुरुआत गरेका छन्। प्रतिभा माविद्वारा आयोजित प्रतियोगिताको दोस्रो दिन सोमबार मदरल्याण्ड सेकेन्डरीले जनप्रिय मावि र छोरेपाटन माविले कुमुदिनी होम्सलाई पराजित गर्दै विजयी यात्रा सुरु गरेका हुन्।
प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा छोरेपाटन माविले कुमुदिनी होम्स माविलाई ४८ रनले पराजित गर्यो। टस जितेर कुमुदिनी होम्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको छोरेपाटनले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो। छोरेपाटनका लागि प्रदीप थापाले ४० बलमा २३ रन, अनिश थापाले १६ बलमा १५ रन र उज्वल पौडेलले १२ बलमा १५ रनको योगदान दिए।
छोरेपाटनलाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा कुमुदिनीका लकी गुप्ताले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट तथा सुधिर साहले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।
१२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कुमुदिनी होम्स १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटियो। छोरेपाटनका बलरहरू सामु कुमुदिनीका ब्याटरहरू निरीह देखिए। कुमुदिनीका लागि विद्वान देवकोटाले ३२ बलमा १२ रन र सञ्जीत कुँवरले १० बलमा ९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। छोरेपाटनका अनिश थापाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट तथा किशोर थापाले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए।
सो खेलमा छोरेपाटनका अनिश थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए।
सोमबारको दोस्रो खेलमा मदरल्याण्ड सेकेन्डरीले जनप्रिय माविलाई ८१ रनले पराजित गर्यो। टस जितेर जनप्रियले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मदरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल तयार गर्यो। मदरल्याण्डका लागि सक्षम विकले ५९ बलमा २६ रन र सुभम गिरीले २६ बलमा २३ रनको योगदान दिए। जनप्रियका सम्राट क्षेत्रीले ४ ओभरमा २० रन खर्चेर २ विकेट तथा कृष्ण ढकालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।
१३० रनको लक्ष्य पछ्याएको जनप्रिय १२.३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमै समेटियो। जनप्रियका सन्देश स्याङ्तानले २२ बलमा ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। मदरल्याण्डका विलोभ मल्लले २.३ ओभरमा केवल २ रन खर्चेर ५ विकेट लिँदा भुवन भण्डारीले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए।
सो खेलमा मदरल्याण्डका पाँच विकेटधारी विलोभ मल्ल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा डायमण्ड विरुद्ध बाल मन्दिर र नेपाल–भारत मैत्री विरुद्ध वाराही मावि प्रतिस्पर्धामा उत्रिनेछन्।














प्रतिक्रिया लेख्नुहोस्:-