पोखरा, २७ वैशाख । बेगनास सिंचाई जल उपभोक्ता समिति अन्तर्गत दुई नम्बर शाखाले शनिबार बाँधाको रह क्षेत्रमा सामूहिक पूजा सम्पन्न गरेको छ ।
बेगनास नहरबाट सिंचाई सेवा लिइरहेका स्थानीय उपभोक्ताले विगत एक सय वर्षभन्दा अघिदेखि हरेक वर्ष बौद्ध पूर्णिमा वा अन्य महत्वपूर्ण तिथिमा यहाँस्थित भंगेर, काली नाग, सेती नाग र बनस्कन्धीको पूजाआजा गर्दै आएको समितिका अध्यक्ष शिबबहादुर थापा ले जानकारी दिनुभयो ।
नहरमा कुनै समस्या नआओस्, सिंचाई सहज होस् र खेतीबाली राम्रो होस् भन्ने कामनासहित स्थानीय उपभोक्ताले हरेक वर्ष सामूहिक पूजा गर्दै आएको बताइएको छ ।
मूल समितिका अध्यक्ष राजु खत्री का अनुसार बेगनास सिंचाई प्रणाली अन्तर्गत पाँचवटा शाखा रहेका छन् । यस वर्ष संघीय बजेटअन्तर्गत करिब ५५ देखि ६० लाख रुपैयाँ लागतमा पाँचवटै शाखामा आवश्यक मर्मतसम्भारका काम अघि बढाइएको उहाँले बताउनुभयो ।
समाजसेवी एवं ज्येष्ठ सदस्य कृष्णप्रसाद अधिकारी ले प्राचीन कालदेखि सञ्चालन हुँदै आएको सामूहिक पूजाको विशेष सांस्कृतिक महत्व रहेको उल्लेख गर्नुभयो ।
दुई नम्बर शाखाका निवर्तमान अध्यक्ष विष्णुबहादुर बस्नेत ले हाम्रा प्राचीन संस्कार तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा यसको हस्तान्तरण आवश्यक रहेको बताउनुभयो ।














प्रतिक्रिया लेख्नुहोस्:-