पोखरा, मङ्सिर ९ गते ।
युनाइटेड भलिबल क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको ‘फेवा किङ्स राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आयोजक युनाइटेड भलिबल क्लब पोखराले विजयी सुरुवात गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा आयोजक टोलीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० को सेटमा हराउँदै लिग तालिकामा ३ अङ्क जोडेको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै ३ अङ्क जोडेको छ । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै २ अङ्क जोड्दा पराजित पुलिसले १ अङ्क प्राप्त गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेल युनाइटेड भलिबल क्लब पोखरा र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेलमा कोशी प्रदेश र नेपाल पुलिस क्लब तथा तेस्रो खेलमा एपीएफ क्लब र गण्डकी प्रदेश भिड्ने प्रतियोगिता संयोजक थम गुरुङले जानकारी दिए ।
राउण्ड रोबिन फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा आयोजक युनाइटेड भलिबल क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।















प्रतिक्रिया लेख्नुहोस्:-