स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित कोल्मा बहाकोटमा सातौँ संस्करणको राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ।
बुधबार पोखरास्थित कोल्मा बहाकोट तमु समाज घरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ आगामी २०८३ पुस ८ गते (२३ डिसेम्बर २०२६) प्रतियोगिता सञ्चालन हुनेछ।
गाउँ छाडेर विदेशिने तथा सहर पस्ने क्रम बढ्दै जाँदा गाउँबस्ती उजाड हुँदै गएको अवस्थामा गाउँको विकास, स्थानीय संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा खेलकुदको माध्यमबाट ग्रामीण क्षेत्रको आर्थिक विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत खुला पुरुष तथा महिला २५ किलोमिटर दौड, खुला महिला १० किलोमिटर दौड, २१ वर्षमुनिका पुरुषको १० किलोमिटर दौड, विद्यार्थी छात्रछात्राको ५ किलोमिटर दौड तथा ३० वर्षमाथिका महिलाका लागि रन फर फन दौड समावेश गरिएको छ।

प्रतियोगितामा विभिन्न विधाका विजेतालाई नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ। साथै प्रतियोगितामा सहभागी हुने स्थानीय खेलाडीमध्ये उत्कृष्ट एक जनालाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रम सञ्चालनका लागि कोल्मा बहाकोट समाज यूके, कोल्मा बहाकोट समाज यूके आमा समूह, गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पुतलीबजार नगरपालिका, विभिन्न संघसंस्था, युवा क्लब, आमा समूह तथा स्वदेश तथा विदेशमा रहेका सहयोगीहरूको साथ रहने जनाइएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सञ्चारकर्मी, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालालाई प्रचारप्रसार र सहयोगका लागि आग्रह गरेको छ।















प्रतिक्रिया लेख्नुहोस्:-