पोखरा, २७ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी को आयोजनामा हुने ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ अन्तर्गत “वर्ष उत्कृष्ट प्रशिक्षक” विधामा पूर्व खेलाडीहरूबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।
यस विधामा तेक्वान्दोकी रेखमाया गुरुङ, टेनिसका कुमार अधिकारी र एथ्लेटिक्सका सिद्धान्त अधिकारी मनोनयनमा परेका छन् । तीनै जना विगतमा सफल खेलाडीका रूपमा स्थापित भइसकेका व्यक्तित्व हुन्, जो अहिले प्रशिक्षकका रूपमा नयाँ पुस्ता उत्पादनमा सक्रिय छन् ।
पूर्व खेलाडीबाट प्रशिक्षक बनेका यी तीनै जनाको लक्ष्य गण्डकी प्रदेश र नेपालको खेलकुदलाई थप उचाइमा पु¥याउनु रहेको छ । रेखमाया तेक्वान्दोमा प्रदेशको नतिजा सुधार गर्न सक्रिय छिन् भने कुमार अन्तर्राष्ट्रिय अनुभवलाई पोखराको टेनिस कोर्टमा प्रयोग गरिरहेका छन् । उता सिद्धान्त वैज्ञानिक प्रशिक्षण पद्धतिमार्फत एथ्लेटिक्समा नयाँ पुस्ता तयार गर्न जुटिरहेका छन् ।
रेखमाया गुरुङ – तेक्वान्दो
तेक्वान्दो क्षेत्रमा लामो समयदेखि सक्रिय रेखमाया गुरुङ सन् २०१५ देखि प्रशिक्षकका रूपमा कार्यरत छिन् । खेलाडी जीवनमा उल्लेखनीय सफलता हासिल गरेकी उनले विवाह वा वैदेशिक रोजगारीका कारण खेल क्षेत्रबाट टाढा नजाने निर्णय गर्दै प्रशिक्षकको भूमिकामार्फत खेलमै भविष्य खोजेको बताइन् ।
प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेकी रेखमाया हाल प्रदेश तेक्वान्दो संघको सदस्यका रूपमा सक्रिय छिन् । केही दिनअघि उनलाई गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विधाबाट युवा प्रतिभा सम्मान प्रदान गरेको थियो ।
गण्डकी प्रदेशका खेलाडीहरूले राष्ट्रिय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगितामा स्वर्ण पदक जितून् भन्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले बताइन् । उत्कृष्ट प्रशिक्षकको मनोनयनले आफूलाई थप जिम्मेवार बनाएको उनको भनाइ छ ।
कुमार अधिकारी – टेनिस
कास्कीमा जन्मिएका कुमार अधिकारी नेपाली टेनिसका सफल खेलाडी तथा प्रशिक्षकमध्ये एक मानिन्छन् । कुनै समय नेपालको शीर्ष वरीयतामा रहेका अधिकारीले सातौँ राष्ट्रिय खेलकुदमा तत्कालीन पश्चिमाञ्चलका लागि स्वर्ण पदक जितेका थिए । उनले चीनको ग्वान्जाउमा सम्पन्न एशियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका थिए ।
टेनिसतर्फ उनको प्रेरणा आफ्नै बुवा दुर्गा अधिकारीबाट आएको हो । काठमाडौंस्थित अमेरिकन राजदूतावासको फोहोरा दरबार कोर्टमा पाँच वर्ष प्रशिक्षण गराएपछि उनी सन् २०१७ मा माल्दिभ्स गएका थिए । त्यहाँ उनले राष्ट्रिय टिमको प्रशिक्षण गराउनुका साथै सन् २०१८ को एशियन गेम्समा माल्दिभ्स टोलीको नेतृत्वसमेत गरेका थिए ।
हाल उनी गण्डकी प्रदेश तथा कास्की जिल्ला टेनिस संघसँग समन्वय गर्दै नयाँ खेलाडी उत्पादनमा जुटेका छन् । आर्यशराज पौडेल, दर्शील श्रेष्ठ र शास्वत बज्राचार्यलगायत जुनियर खेलाडीलाई प्रशिक्षण दिइरहेका अधिकारी यसअघि पोखरा स्पोट्र्स अवार्डमा उत्कृष्ट खेलाडीको अवार्डसमेत जितिसकेका छन् ।
सिद्धान्त अधिकारी – एथ्लेटिक्स
पोखरा–२६, बुढीबजारका सिद्धान्त अधिकारी एथ्लेटिक्स क्षेत्रमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा सक्रिय छन् । उनले पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्दै आफ्नो खेल जीवनलाई सफल बनाएका थिए ।
अध्ययन तथा खेललाई निरन्तरता दिन भारत पुगेका उनले आर्मी स्पोट्र्स इन्स्टिच्युट बाट स्पोट्र्स साइन्समा डिप्लोमा गरेका थिए । त्यहाँ उनले मध्य तथा लामो दूरीका खेलाडीलाई प्रशिक्षण गराउने अनुभवसमेत बटुले ।
नेपाल फर्किएपछि उनले वैज्ञानिक प्रशिक्षण पद्धतिमार्फत खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सन् २०२१ मा सुनिल राजवंशीसँग मिलेर “हिमालयन एलिट्स रन” प्रोजेक्ट सुरु गरेका थिए । यस प्रोजेक्टमार्फत खेलाडीलाई निःशुल्क प्रशिक्षण तथा खेल सामग्री उपलब्ध गराउँदै आएका छन् ।
नारायणी भण्डारी, बादल कार्की र अनुष्का अधिकारीलगायत खेलाडी अहिले उनकै प्रशिक्षणमा अघि बढिरहेका छन् । कास्की जिल्ला एथलेटिक्स संघका सचिवसमेत रहेका अधिकारीको संयोजनमा पोखरा ओपन एथलेटिक्स मिट तथा पोखरा १० के जस्ता प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
खेलाडीबाट प्रशिक्षक बनेका यी तीन व्यक्तित्वबीचको प्रतिस्पर्धाले ‘१०औँ पोखरा स्पोट्र्स अवार्ड’ लाई थप आकर्षक बनाएको छ ।














प्रतिक्रिया लेख्नुहोस्:-