स्याङ्जा, फागुन १२ — विरुवा गाउँपालिकामा नेकपा (एमाले) को स्तरीय जनभेला उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) चुनाव परिचालन समिति, विरुवा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम बिहान ११:३० बजेबाट सुरु भई राजनीतिक माहोल तताएको थियो।
विरुवा बजार–१ स्थित पुण्य मदन बहुउद्देश्यीय भवनमा आयोजित जनभेलामा पूर्व उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थामाथि तीखा टिप्पणी गरेका थिए।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली को चीन भ्रमणताका भएका सन्धि–सम्झौताकै कारण सरकार विघटनतर्फ धकेलिएको दाबी गर्दै देशलाई अस्थिरतातर्फ लैजान खोजिएको आरोप लगाए। “देशलाई युक्रेन जस्तो अवस्थातर्फ पुर्याउने खेल भइरहेको छ,” उनले चेतावनीपूर्ण शैलीमा भने। साथै, वर्तमान परिस्थितिमा “नयाँ–नयाँ जलन्स्कीहरू उत्पादन भइरहेका छन्” भन्दै उनले राष्ट्रिय स्वाधीनता र स्थायित्वको पक्षमा एकजुट हुन आह्वान गरे।
कार्यक्रममा पूर्व मन्त्रीद्वय पद्मा कुमारी अर्याल र खगराज अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित रहे। त्यसैगरी प्रतिनिधिसभा सदस्य उम्मेदवार मिन प्रसाद गुरुङ (क्षेत्र नं. १) तथा नेकपा (एमाले) का समानुपातिक उम्मेदवार रामबहादुर थापाले पनि आफ्नो धारणा राख्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन अपिल गरे।जनभेलामा गाउँपालिका स्तरका पार्टी अध्यक्ष प्रकाश थापा, गाउँपालिका अध्यक्ष सूर्यकुमार लगायतका नेताहरूले संगठन सुदृढीकरण, विकास निर्माण र राजनीतिक स्थायित्वका विषयमा जोड दिएका थिए।
उल्लेख्य संख्यामा नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको उक्त जनभेला आगामी निर्वाचनलाई लक्षित गर्दै रणनीति, नीति तथा संगठन विस्तारका विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ। राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको सन्दर्भमा विरुवाको यो जनभेला एमालेका लागि शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-