सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पोखरा सडक खण्ड ५४ वर्षपछि पहिलोपटक ‘डेडिकेटेड डबल लेन’मा स्तरोन्नति गरिने भएकोछ। १५८ किमि लामो यो खण्डलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्दै पर्यटन र व्यापार प्रवद्र्धनका लागि भौतिक पूर्वाधार सुधार गर्ने सरकारको योजना रहेको छ ।
सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार, सडकको स्तरोन्नति डेडिकेटेड डबल लेन स्वरूपमा गरिनेछ। जसअनुसार एकतर्फी लेनमा सवारी रोकिए पनि अर्को लेनले सञ्चालन सम्भव हुने व्यवस्था हुनेछ। सडकको हालको चौडाइ ५.५ देखि ६ मिटर भएकाले, प्रस्तावित योजनामा सात मिटर क्यारिजवे, दुवैतर्फ १.५ मिटरको सोल्डर र एक मिटरको नालासहितको संरचना बनाइनेछ।
योजना अनुसार, पुतली बजार क्षेत्रमा बाइपास बनाइनेछ, जसले स्थानीय संरचना संरक्षणसँगै सामाजिक द्वन्द्व न्यूनीकरणमा मद्दत गर्नेछ। यसैगरी, स्याङ्जा, मायातारी, सामकोश र भालुपहाडसहितका पाँच स्थानमा सुरुङमार्ग बनाइनेछ। सिद्धबाबा सुरुङ (१,१२६ मि) हाल निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य चार सुरुङको लम्बाइ ९९ देखि १९१ मिटरसम्म हुनेछ।
योजनामा ३८ वटा भायाडक्ट पनि समावेश गरिएको छ, जसको लम्बाइ ८ मिटरदेखि ९२ मिटर र उचाइ ६ देखि २० मिटरसम्म हुनेछ। यी संरचनाले झन्डै ४.४ किमि सडक दूरी घटाउने प्रतिवेदनमा उल्लेख छ।
परियोजनाको कुल अनुमानित लागत १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको छ। जसमा सडक स्तरोन्नतिमा १० अर्ब ३८ करोड र सुरुङ तथा भायाडक्ट निर्माणमा ९ अर्ब ३७ करोड लाग्नेछ। निर्माण कार्य ४ वर्षमा सम्पन्न गरिने योजना छ भने थप १ वर्ष त्रुटि सच्याउने समय राखिएको छ।














प्रतिक्रिया लेख्नुहोस्:-