राम चन्द्र परियार
पुतलिबजार प्रज्ञाप्रतिष्ठान/प्राज्ञ सदस्य
ध्वजा केवल कपडाको एउटा टुक्रा होइन, यो आस्था, विश्वास, संस्कृति र सभ्यताको प्रतीक हो। सनातन हिन्दु परम्परामा प्रकृति पुजनका कर्महरुमा वा अन्य कुनै पनि धार्मिक यज्ञ अनुष्ठान आदी मा मण्डप,धुरी खाँवो, लिंगो फुलका वा अन्य रुखका हाँगा मा मौलो मा देवस्थलमा पूजा आरम्भ गर्नु अघि ध्वजा चढाउने वा बाँध्ने चलन रहिआएको छ। मन्दिर, मौला, कोट, किल्ला, देउराली तथा नाग, भैरव, झाँक्री, वनदेवी, वीर मसान, दानुवा, जलदेवी, बनस्खण्डी, दोखला, बाईपूजा, कुल–कुलायनीजस्ता प्रकृति र लोकदेवताका थानहरूमा देवालय,शिवालय, तोरण,कलश ईत्यादीहरुमा स्नानादी गरि शुद्ध चोखो भई आफ्ना कुल पितृहरुको,मष्ट देवता लगायतका थानीमानी हरुको स्मरण गर्दै प्रार्थना पुकारा गर्दै पितृ हरुलाई सेता र पँहेला अनि देवता हरुलाई राता सेता पँहेला रंगिन सुति कपडाको ध्वजा हरु श्रद्धा र समर्पणको प्रथम प्रतीकका रूपमा बाँध्ने चलन चल्ती रहँदै आएको छ। ध्वजाले मानव र दिव्य शक्तिबीचको सम्बन्धलाई प्रकट गर्ने विश्वास गरिन्छ।
हाम्रो समाजमा ध्वजासँग एउटा विशिष्ट समुदायको ऐतिहासिक सम्बन्ध पनि गाँसिएको छ। परम्परागत रूपमा ध्वजा काट्ने र तयार गर्ने कार्य दमाई समुदायले गर्दै आएको थियो। गाउँघरमा पूजा, भाकल वा धार्मिक कार्य गर्नुअघि दमाईलाई सम्मानपूर्वक घरमा बोलाइन्थ्यो। सुपोमा धान, मानो–पाथीमा चामल, सगुन, फलफूल तथा दक्षिणा दिएर ध्वजा काट्न लगाइन्थ्यो। यो केवल श्रमको मूल्यांकन मात्र थिएन, धार्मिक संस्कारमा उनीहरूको अपरिहार्य भूमिकाको सामाजिक स्वीकारोक्ति पनि थियो।
ध्वजा काट्ने यही समुदायले समाजका अन्य आवश्यक कार्यहरू पनि सम्हाल्दै आएको थियो। नवजात शिशुको न्वारनका लागि भोटो–काँठो बनाउने, सिरक–डसना सिलाउने,व्रतबन्ध मा झोलिसुनथैली सिउने,चाडपर्व,बिवाह उत्सव लगायत दैनिक उपभोग्य पोसाक तैयार गर्ने तथा मर्मत गर्ने जस्ता कार्य उनीहरूको सीप र श्रमसँग जोडिएका थिए। समाजको दैनिक जीवनदेखि धार्मिक अनुष्ठानसम्म उनीहरूको योगदान अविस्मरणीय थियो।यीनै दमाई समुदायका मानिसहरुलाई अघिलगाएर वा देखेर यात्रा साईत गर्दा शुभसाईत हुने बिश्वास गरिन्छ । तर विडम्बना, जसको हात ले देवस्थलका लागि ध्वजा चँदुवा तयार हुन्थे,जस्का सिपद्वारा नवजात शिसुलाई पहिलो बस्त्र भोटो पहिराईन्थ्यो,जस्लाई मांगलिक कार्यमा र शुभयात्रा साईतमा देखेर प्रशन्न भई अघि लगाएर यात्रा आरम्भ गरिन्छ, त्यही हातलाई समाजका केही वर्गले ूअछूतू ठहर गरे।

यो हाम्रो सामाजिक इतिहासको सबैभन्दा दुःखद विरोधाभास हो। धार्मिक मांगलिक कार्य आरम्भ र सम्पन्न गर्न आवश्यक ठानिएको समुदायलाई नै जातीय विभेद र छुवाछूतको सिकार बनाइयो। उनीहरूको सीप, श्रम र योगदानको सम्मान गर्नुपर्ने ठाउँमा बिरोधाभाष पुर्ण ढंगले उपभोग, अपमान र बहिष्कारको व्यवहार गरियो। धर्मले मानवता, समानता र करुणाको शिक्षा दिन्छ, तर धर्मकै नाममा केही मानिसमाथि गरिएका विभेदपूर्ण व्यवहारले हाम्रो सामाजिक चेतनामा गम्भीर प्रश्न खडा गरेको छ।
आज समय बदलिएको छ। संविधान र कानुनले जातीय विभेद तथा छुवाछूतलाई अपराध मानेका छन्। तर कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन, समाजको सोच पनि परिवर्तन हुनुपर्छ। ध्वजा फहराउँदा हामीले त्यसलाई तयार गर्ने हातहरूको सम्मान गर्न सक्नुपर्छ। देवताको सामुन्ने सबै समान हुन्छन् भन्ने मान्यतालाई व्यवहारमा पनि उतार्न सक्नुपर्छ।
ध्वजा केवल मन्दिरको शिखरमा फहरिने प्रतीक मात्र होइन, यो हाम्रो साझा संस्कृति, सहअस्तित्व र सामाजिक न्यायको पनि प्रतीक हो। त्यसैले ध्वजाको सम्मान गर्नु भनेको त्यससँग जोडिएको इतिहास, श्रम, सीप र समुदायको सम्मान गर्नु हो। जबसम्म हामी यो सत्यलाई हृदयदेखि स्वीकार गर्दैनौँ, तबसम्म हाम्रो ध्वजा त फहरिरहला, तर मानवताको सन्देश भने अधुरै रहनेछ।
















प्रतिक्रिया लेख्नुहोस्:-