असार ७ – पोखरा | ‘डिजिटल नागरिक स्थानलाई बलियो बनाउन युवाहरू एकजुट हुँदै’ भन्ने मूल नारासहित आयोजित गण्डकी प्रदेश युवा सम्मेलन २०८३ पोखरामा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले डिजिटल अधिकार, युवा नेतृत्व, सुशासन, शिक्षा, रोजगारी र जलवायु न्यायका विषयमा केन्द्रित ६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो।
गैरसरकारी संस्था महासङ्घ नेपाल गण्डकी समिति र युवा अभियानको संयुक्त आयोजना तथा युरोपियन युनियन र सिभिकसको सहकार्यमा आयोजित सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका ५० भन्दा बढी युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्मेलनबाट सार्वजनिक ६ बुँदे घोषणापत्रमा डिजिटल अधिकार र गोपनीयताको सुनिश्चितता, स्थानीय तहसम्म गुणस्तरीय इन्टरनेट पहुँच विस्तार, डिजिटल साक्षरता र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी शिक्षा प्रवर्द्धन गर्न माग गरिएको छ। साथै माध्यमिक तहसम्म निःशुल्क, प्रविधिमैत्री र सीपमूलक शिक्षा सुनिश्चित गर्दै सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
घोषणापत्रमा प्रत्येक स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा विस्तार, मानसिक स्वास्थ्यमा लगानी वृद्धि तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितताको माग गरिएको छ। युवा उद्यमशीलता प्रवर्द्धनका लागि कर सहुलियत, सुलभ ऋण, सशुल्क इन्टर्नसिप, मौसमी रोजगारी तथा कृषि र पर्यटनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि द्रुत प्रतिकार्य संयन्त्र निर्माण, हरित पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा युवाको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। निर्णय प्रक्रियामा कम्तीमा २० प्रतिशत युवा सहभागिता, पारदर्शी शासन प्रणाली र सार्वजनिक योजनाको नागरिक अनुगमनमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने माग पनि घोषणापत्रमा समेटिएको छ।
सम्मेलनमा सहभागी युवाहरूले डिजिटल जिम्मेवारी, सामाजिक सद्भाव, वातावरण संरक्षण, उद्यमशीलता र सामुदायिक सेवामा सक्रिय योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणापत्रमा उल्लिखित विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाज, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको औँल्याइएको छ।
यसैबीच, एक वर्षे कार्यकालका लागि नवलपुरकी यमकला पौडेलको अध्यक्षतामा १५ सदस्यीय प्रादेशिक नागरिक समाज सङ्गठन युवा मञ्च गण्डकी प्रदेश (सीएसओ फोरम) गठन गरिएको छ। समितिको सहअध्यक्षमा युवराज पौडेल र सचिवमा जमुना शर्मा चयन हुनुभएको छ। अन्य सदस्यहरूमा जयराम थापा, कृतन गौतम, विना परियार, अनिता लुइटेल, प्रतिष्ठा सुवेदी, तासी गुरुङ, अनिल बज्जरा, प्रदीप गुरुङ, कमल कञ्चन कार्की, नमुना गिरी, जीवन श्रेष्ठ र सोभिना सुबेदी सर्वसम्मत रूपमा चयन भएका छन्।
अध्यक्ष पदका लागी केही समय विवादित बनी स्थगन अवस्था सम्म पुगेको थियो । अत्यमा आयोजकको शकसपूर्ण प्रयासमा पुन यमकला पौडेललाई अध्यक्षमा निर्विरोध चयन गराउन सफल भएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-