हुम बहादुर गुरुङ, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेमा आयोजित तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कप–२०८३ भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा भलिबलको उपाधी भने बालकन्या युवा क्लब विरुवले चुम्न सफल भएको छ । त्यस्तै शाही फलफूल टिमले द्वितीय स्थान हासिल गर्दा आयोजक मनकामना टिम तृतीय स्थानमा चिक्ता बुझाउनुपरेको छ ।
मौसम प्रतिकूल भई वर्षा भएपछि भलिबल प्रतियोगिताको फाइनल खेल सञ्चालन हुन सकेन । त्यसपछि फाईनलमा पुग्ने टोलीबीचको आपसी समझदारीमा पुरस्कार वितरणको निर्णय गरिएको थियो । शिल्ड र मेडलको लागी प्रथम र द्वितीय स्थान छुट्याउन हेड एन्ड टेल विधिबाट निर्णय गरिएको थियो । जसमा बिरुवा बालकन्या युवा क्लबले बाजी मार्दै उपाधि जित्न सफल भयो ।

महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्याङ्जा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय झविलाल डुम्रेको प्रमुख आथिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष अतिथिको रुपमा भने विरुवा गाउपालिका अध्यक्ष सूर्य बहादुर कुवर, रासपा गण्डकी प्रदेश महामन्त्री कृष्ण प्रसाद लम्साल रहनुभएको थियो । कार्यक्रममा रासपाको स्थानीय नेता तथा कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरले मनकामना क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनाबारे चर्चा गर्दै यसको विकासका लागि प्रकृतिमैत्री पूर्वाधार निर्माण आवश्यक रहेको बताउनु भयो । उहाँले ज्याग्दीखोला करिडोरदेखि मनकामना मन्दिरसम्म पुग्ने सडक, बाटोघाटोको स्तरोन्नति तथा समग्र क्षेत्रको विकासमा संघीय सरकारको समेत सहयोग र पहल आवश्यक रहेको धारणा राख्नुभयो ।
अध्यक्ष कुँवरको जिज्ञासालाई सम्बोधन गर्दै सांसद डुम्रेले आगामी दिनमा मनकामना क्षेत्रको सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी महोत्सवसम्म सडकको स्तरोन्नति तथा मनकामना क्षेत्रलाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पहल र सहयोग गर्ने आश्वासन दिनुभयो ।
धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिलाई एकैसाथ जोड्दै आयोजना गरिएको महोत्सवले स्थानीय कला, संस्कृति, पर्यटन तथा खेलकुद प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास छ ।
















प्रतिक्रिया लेख्नुहोस्:-