पोखरा, मंसिर १० । फेवा भलिबल कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आयोजक किङ्स पोखरा, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जित हासिल गरेका छन् ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन आयोजक र गण्डकीले लगातार दोस्रो जित निकाल्दा नेपाल पुलिस क्लबले पहिलो जित दर्ता गरेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा आयोजक किङ्स पोखराले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आयोजकले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ को सेटमा हराउँदै तीन अंक जोडेको हो ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ को सेटमा हराउँदै तीन अंक जोड्यो । यसअघि एपीएफसँग ३–२ को सेटमा पराजित भएको पुलिसले दोस्रो खेलमा जित निकाल्दै लिगमा चार अंक पुर्याएको छ ।
दिनको अन्तिम खेलमा गण्डकी प्रदेशले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । गण्डकीले पहिलो र दोस्रो सेट २५–१५ र २५–२१ ले जिते पनि तेस्रो सेट २५–२३ ले एपीएफलाई सुम्पिएको थियो । चौथो सेट २५–१६ ले जित्दै गण्डकीले तीन अंक जोडेको हो । लिग तालिकामा गण्डकीको ६ अंक पुगेको छ ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल एपीएफ र कोशी प्रदेशबीच हुनेछ । दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच तथा तेस्रो खेल गण्डकी प्रदेश र आयोजक किङ्स पोखराबीच हुने प्रतियोगिता संयोजक थमन गुरुबले जानकारी दिए ।
राउण्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुबले जानकारी दिए ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
बिरुवा खबर | समाचार, सूचना र स्थानीय आवाज















प्रतिक्रिया लेख्नुहोस्:-