पोखरा, ३० कात्तिक । समाजसेवी मेजर लक्ष्मीप्रसाद–हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील युवा पत्रकार सुमन थापा सिञ्जालीमगर सम्मानित हुने भएकी छिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा प्रदान गरिने उक्त पुरस्कार मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको वैवाहिक वर्षगाँठको अवसरमा मंसिर ३ गते प्रदान गरिने भएको हो । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीषमगरको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको पत्रकार सिञ्जालीमगरको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै उनलाई पुरस्कृत गरिने भएको हो । पुरस्कार छनोट समितिमा फोनिज गण्डकीका अध्यक्ष खिमकुमारी गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ, फोनिज कास्कीका अध्यक्ष बिनाकुमारी थापामगर र सचिव देविका तामाङ सदस्य रहेका थिए । पुरस्कारका लागि छनोट भएकी मगरले २०६८ सालदेखि कास्कीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएकी छिन् । युनाइटेड राष्ट्रिय दैनिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी उनले जननी एफएम, बिग एफएम, परिचय डटकम, समाधान राष्ट्रिय दैनिक र कथालिका डटकमलगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी छिन् । सिञ्जालीमगरले पत्रकारिता विषयमा स्नातक तहको अध्ययन पूरा गरेकी छिन् । एफएम रेडियो, अनलाइन सञ्चारमाध्यम तथा छापा पत्रकारितामा अनुभव हासिल गरेकी उनी अहिलेपनि पत्रकारिता क्षेत्रमा सक्रिय छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र नेपाल मगर पत्रकार संघ कास्कीको कोषाध्यक्ष हुन् । युवा पत्रकारितामा सक्रिय सिञ्जालीमगरलाई पत्रकारिता क्षेत्रप्रतिको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको हो ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079















प्रतिक्रिया लेख्नुहोस्:-